म्याग्दी। मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेका जनप्रतिनिधि र बासिन्दाले बेनी–जोमसोम–कोरला सडक निर्माणमा भएको ढिलाइका विषयमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीको ध्यानाकर्षण गराएका छन् ।
थासाङ गाउँपालिका–१ टुकुचेका वडाध्यक्ष शुरेश थकालीलगायत स्थानीयबासीले संघीय सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत् कालिगण्डकी करिडोरअन्तर्गत सञ्चालित योजनाको टुकुचेदेखि जोमसोम खण्डमा सडक कालोपत्र समयमा सम्पन्न हुन नसकेको र यसका कारण आवतजावतमा समस्या भएकाले संघीय सरकारका विभागीय मन्त्री तथा आयोजनाका अधिकारीसँग पहल गरिदिन अनुरोध गरेका थिए ।
वडाध्यक्ष थकालीले सडकको क्षेत्राधिकारमा पर्ने जग्गाको क्षतिपूर्ति लगायतका काममा सहजीकरण गरे पनि काम नभएकोमा दुःख व्यक्त गरे । मन्त्री जुग्जालीले बेनी जोमसोम कोरला सडक स्तरोन्नति योजनामा भएको ढिलाइ र स्थानीयबासीको गुनासोको विषयमा प्रदेश सरकारको तर्फबाट सम्बन्धित आयोजना प्रमुख र संघीय सरकारका विभागीय मन्त्रीसँग समन्वय तथा सहजिकरण गर्ने प्रतिबद्धता जनाए । बेनी–जोमसोम कोरला सडक स्तरोन्नतिको कामलाई गति दिन सरोकारवालासँग छलफल गर्ने र दबाब दिने बताए । कारोबार दैनिकबाट