काठमाडौं। बुद्ध एयरले जनकपुर–अयोध्या उडान गर्न आवश्यक तयारी थालेको छ। बुद्ध एयरले जनकपुरबाट आगामी जनवरीदेखि सञ्चालनमा आउन लागेको अयोध्या विमानस्थलमा उडान गर्नका लागि गृहकार्य थालेको हो।
तर अयोध्यामा उडान गर्न जनकपुर विमानस्थलमा अध्यागमन, भन्सार लगायत कार्यालय लगायतका विषयमा नेपाल सरकारको तर्फबाट भने कुनै पहल भएको छैन।
अन्तर्राष्ट्रियस्तरको नभएका कारण जनकपुरबाट क्षेत्रीय उडान मात्र सम्भव हुने प्राधिकरणले जनाएको छ। क्षेत्रीय उडानका लागि पनि विशेष प्रकृया पूरा गर्नुपर्ने र उडानका लागि भारतले पनि अनुमति दिनुपर्ने हुन्छ।
सरकारका तर्फबाट कुनै तयारी नभएपनि बुद्ध एयरले भने बजार अध्ययन सुरु गरिसकेको छ।
बुद्धले तीन वर्ष अगाडि नै जनकपुर–अयोध्या उडानका लागि इच्छा देखाएको थियो। तर विमानस्थल निर्माणमा ढिलाइ भएकाले त्यतिखेर उसको योजना रोकिएको थियो।