महेन्द्रनगर। सूदुरपश्चिम प्रदेशको कञ्चनपुरदेखि दार्चुलाको उत्तरी नाकासम्म जोड्ने महाकाली सडक कोरिडोर आयोजनाको एउटा प्याकेजको वन क्षेत्रको रुख कटानको स्वीकृति नमिल्दा निर्माणमा ढिलाइ भएको छ । आयोजनाअन्तर्गत डडेल्धुराको वन क्षेत्रमा पर्ने ३१ किलोमिटर रुटमा रुख कटानको आदेश अहिलेसम्म नआउँदा ‘ट्र्याक’ खोल्न ढिलाइ भइरहेको हो ।
अहिलेसम्म यो प्याकेजको आदेश आइसक्नु पर्ने थियो । तर, रुख कटान आदेश अझै आइसकेको छैन । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको उत्तरी नाका तिङ्कर भञ्ज्याङसम्म ४ सय १३ किलोमिटर सडक कोरिडोर पछिल्लो १३ वर्षदेखि निर्माणाधीन छ ।
पछिल्लो समय नेपाल–भारत र चीनसितको त्रिदेशीय नाकाका रुपमा विकास गर्ने योजनासहित अघि सारिएको कोरिडोरअन्तर्गत डडेल्धुरामा ३१ किलोमिटर खण्डमा पर्ने ६ हजार ९४ रुख विरुवा कटानको आदेश नआउँदा ट्र्याक खोल्न ढिलाइ भइरहेको छ ।
सडक आयोजनाअन्तर्गत नै कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोडबुढा क्षेत्रको १५ किलोमिटर ट्र्याक खोल्न ५ करोड ५० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सो प्याकेजको ट्र्याक खोल्ने काम भने सकिएको छ ।