काठमाडौं। भारत सरकारले एयर बबल सम्झौता खारेजी गरेसँगै पुसबाट नेपाल र भारतका निजी वायुसेवा कम्पनीले नियमित उडान सुरु गर्न पाउने भएका छन्।
केही दिन अगाडी भारतको नागरिक उड्डयन प्राधिकरणले एयर बबल खारेज गरेको थियो। कोरोनाका कारण भारतले दुईतर्फी उडानमै बन्देज लगाएपछि एक वर्ष देखी एयरबबल सम्झौता अनुसार दुई मुलुकका ध्वजावाहकले काठमाडौं-नयाँदिल्ली उडान गर्दै आएका थिए।
नियमित उडान सुचारु गर्न निजी वायुसेवा कम्पनीले आन्तरिक छलफल गरिरहेका छन्। निगमले काठमाडौं-दिल्ली तर्फ हप्ताको १४ वटा र बैंगलोर र मुम्बई हप्ताको दुई(दुईवटा गरी कुल १८ वटा उडान गर्ने बताएको छ।
अहिले हप्ताको सातवटा उडान गर्दै आएको एयर इण्डियाले पनि पुसबाट काठमाडौं-दिल्ली साताको १४ वटा र काठमाडौं-कोलकाता साताको चार गरी कुल १८ वटा उडान गर्ने योजना बनाएको छ।
एयर इण्डियाका एक कर्मचारीका अनुसार भारत सरकारले नोभेम्बर १५बाट एयरबबल सम्झौता खारेज गरेको छ। यो गन्तब्यमा निजी वायुसेवा कम्पनीले पनि उडान गर्न पाउँछने भएका छन्।