काठमाडौं। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत म्याग्दीको बेनी–गलेश्वर खण्डमा कालोपत्रे गर्न सुरु गरिएको छ। कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डमा शनिबारदेखि बिटुमिन बिछ्याउन सुरु गरिएको हो।
दुई किलोमिटर १०२ मिटर सडक कालोपत्र गर्न मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालिले भ्याट पिएससहित १२ करोड ७५ लाख ९४ हजार ४३६ रुपैयाँमा २०७९ पुस १७ गते ठेक्का सम्झौता गरेको थियो। दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भए पनि लक्ष्यअघि नै सम्पन्न गर्ने तयारीसहित उपकरण, निर्माण सामग्री र मजदुर परिचालन गरेको निर्माण कम्पनीले जनाएको छ।
सडक फराकिलो बनाउने, पर्खाल, नाली, चारवटा कल्भर्ट, सबबेस, बेस र दुई सय मिटर आरसिसी ढलानपछि कालोपत्र थालिएको हो।