नवलपरासी। पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ को उजैनीमा रहेको रामग्राम स्तूप क्षेत्रमा उत्खनन गर्दा प्राचीन कालका संरचना भेटिएको छ ।लुम्बिनी विकास कोषले रामग्राम नगरपालिकाको सहकार्यमा आइतबार पत्रकार सम्मेलन गरेर उत्खननमा भेटिएका प्रमाणका बारेमा जानकारी गराएको हो।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को सल्लाहकार तथा दुरहाम युनिभर्सिटिको प्रोफेसर रविन कनिङ्गमले नोभेम्बर १ तारिखदेखि सुरु गरिएको उत्खननमा प्राचीन कालका विहारका विभिन्न इँटाका पर्खालहरू र पोखरी फेला परेको बताए ।
यस क्षेत्रमा प्राचीनका विभिन्न भौतिक संरचना छन् । भगवान गौतमबुद्धको अस्तिधातु रहेको उक्त क्षेत्रमा सुरुमा ‘जियोफिजिक्स’ द्वारा केही आधार खोज्ने प्रयास गरिएको थियो । उक्त ‘जियोफिजिक्स’ कै आधारमा उत्खनन गरेपछि ती भौतिक संरचना फेला परेको प्रोफेसर कनिङ्गमले जानकारी दिए ।
रामग्राम स्तूप भगवान गौतमबुद्धको आठ अस्तिधातु मध्येको एक हो । बाँकी सात वटा अस्तिलाई विभिन्न राजाहरूले ८४ हजार टुक्रा गरेर विभिन्न ठाउँमा बाँडे पनि रामग्राम स्तूपको भने कोलि राज्यले सिङ्गो नै राखेका छन् । जसको महत्त्व अन्य स्तूपभन्दा बढी रहेको बताइँदै आइएको छ ।