गण्डकी। सात तालको बगैँचा सहरका रुपमा चर्चा कमाएको कास्कीको लेखनाथमा अवस्थित रुपाताल विश्व रामसार सूचीमा सूचीकृत छ । साविक लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको यो ताल पर्यटकीय गन्तव्यसँगै यस आसपासका सर्वसाधारणको समृद्धिको महत्वपूर्ण आधार बन्दै गएको छ ।
तालको संरक्षण र विकासका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजना मार्फत पूर्वाधार विकासका काम भइरहेका छन् । परियोजना लक्षित काम सम्पन्न भएसँगै तालको संरक्षण, पर्यटकीय विकास हुँदै स्थानीयवासीको जीवनस्तर बढ्ने विश्वास लिइएको छ ।
चरणबद्ध अघि बढ्ने परियोजनाको लागत चार अर्ब ५२ करोड ८८ लाख रुपैयाँ रहेको परियोजनाले जनाएको छ। लक्षित योजनाअनुसार काम सम्पन्न भई बाँध निर्माण भएपछि हाल रहेको पानी सतह छ सय २० मिटरबाट बढेर छ सय २४ मिटर हुने र तालको क्षेत्रफल हालको एक सय २२ हेक्टरबाट बढेर एक सय ८३ पुग्ने जनाइएको छ।
परियोजनाअन्तर्गत हालसम्म भएका कामहरूमा वित्तीय प्रगति ४२ प्रतिशत र भौतिकतर्फ ४३ प्रतिशत काम सम्पन्न भइसकेको छ । सूर्यको किरणसँगै पानीको रुपमा परिवर्तन आइरहने भएका कारण यसको नाम रुपाताल रहन गएको स्थानीयवासी बताउँछन् ।
रुपातालको अवलोकनका लागि पछिल्ला समयमा पर्यटकहरू आउने क्रमसँग आसपासका क्षेत्रमा होटेललगायतका पूर्वाधारहरू पनि विकास हुँदै गएको छ । रुपाताल प्राकृतिक सुन्दरताका दृष्टिले मात्र नभएर माछाका लागि पनि यतिखेर पर्यटकको आकर्षण बनेको छ ।