काठमाडौं। कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा रहेको गौतम बुद्ध माध्यमिक विद्यालयको नवनिर्मित भवन र प्रयोगशालाको उद्घाटन गरिएको छ। सोमबार एक कार्यक्रमबीच भारतीय दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव, जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य र बुद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन्।
भारतको तीन करोड ३२ लाख रुपैयाँ आर्थिक सहयोगमा गौतम बुद्ध माविको लागि आवश्यक भवन र प्रयोगशाला निर्माण गरिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।
‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गतको भारत सरकारको अनुदान सहयोगमा दुईतले विद्यालय भवन, तीनतले प्रयोगशाला भवनको निर्माण र फर्निचर एवं प्रयोगशाला उपकरण खरिद गरिएको दूतावासले जनाएको छ ।
दूतावासद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ, “भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत पहिले साना विकास परियोजना नामले परिचित यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो।”