काठमाडौं। निर्माणाधीन ९७.२० मेगावाटको इसुवा खोला जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न भएको छ। केबिएनआर इसुवा पावर कम्पनीले संखुवासभाको इसुवा खोलामा निर्माण गरिरहेको अर्धजलाशय आयोजनाको २५ प्रतिशत काम सम्पन्न भएको हो।
कम्पनीका अध्यक्ष वीरेन्द्र न्यौपानेका अनुसार हाल आयोजनाको बाँध, पाइप लाइन र विद्युतगृहको काम समानरूपले अघि बढेको छ। पाइप लाइन रहने स्थानको पहिचान गरी जडान कार्य भर्खरै सुरु भएको छ, विद्युतगृहमा पनि जग खन्ने कार्य सम्पन्न गरेर अब संरचना बनाउने कार्यको सुरुवात हुँदै गरेको उनले जानकारी दिए।
उक्त आयोजना स्वदेशी निजी क्षेत्रले निर्माण अघि बढाएको अहिलेसम्मको ठूलो आयोजना हो। आयोजनाबाट २०८० साल चैतभित्र विद्युत उत्पादन गर्ने तालिका छ। तर, कोरोना महामारीका कारण कामदार र निर्माण सामाग्री अभावमा काम प्रभावित हुँदा विद्युत उत्पादन तालिका १ वर्ष धकेलिने सम्भावना बढेको न्यौपानेले जानकारी दिए।
निर्माण पूरा भएपछिदैनिक ६ घन्टा पिकिङ गर्न सकिनेछ। यो आयोजना सञ्चालनमा आएपछि वार्षिक ६४८ गिगावाट घन्टा (६४ करोड ८० लाख युनिट) विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ।आयोजना सम्पन्न गर्न १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ।
आयोजनामा सानिमा बैंकको अगुवाईमा ६ वटा बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन्। आयोजना सम्पन्न भई सञ्चालनमा आउँदा उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने २२० केभी शीतलपाटी सबस्टेसनमा जोडिनेछ।