काठमाडौं। सिराहामा विद्युत चुहावट नियन्त्रण अभियानमा खटिइ चोरी हुकिङ हटाउन गएका नेपाल विद्युत प्राधिकरणका कर्मचारीमाथि स्थानीयले भौतिक आक्रमण गरेका छन्। मंगलबार बिहान विद्युत चोरी भइरहेको स्थानमा प्रहरीसहित पुगेका प्राधिकरण लहान वितरण केन्द्रका कर्मचारीमाथि विद्युत चोरीमा संलग्न स्थानीयले भौतिक आक्रमण गरेका हुन्।
वितरण केन्द्र प्रमुख जितेन्द्र यादवका अनुसार जिल्लाको संखुवानानकरकटी गाउँपालिकाका स्थानीयले प्राधिकरणको गाडी नियन्त्रणमा लिई कर्मचारीलाई धेरै गाह्रो हुने गरी कुटपिट गरेका हुन्।
स्थानीयको आकक्रमणबाट ३ जना कर्मचारी घाइते भएका छन्, बाँकी ११ जनालाई सामान्य घाउचोट लागेको छ। घाइते हुनेमा वितरण केन्द्रका प्रकाश नारायण चौधरी, टिपेन यादव र विनोद यादव रहेको उनले बताए। घाइतेहरू स्थानीय अस्पतालमा उपचारपछि आरामका लागि घर गएका छन्।
विद्युत चोरी नियन्त्रण अभियानमा १४ जना कर्मचारी गएका थिए। वितरण केन्द्रबाट प्रहरीसहित चुहावट नियन्त्रणका लागि गएको टोलीले विद्युत चोरी गर्ने गहरा र महादेवका ५ जना स्थानीयलाई नियन्त्रण लिएका थिए। उनका अनुसार सरहन्चियामा एउटा घरमा हुकिङ गरिरहेको बेला घरधनीलाई नियन्त्रणमा लिन खोज्दा गाउँ नै जम्मा भएर ३ वटा गाडी नियन्त्रणमा लिई हाम्रा कर्मचारीमाथि भौतिक आक्रमण भएको हो।
कर्मचारीमाथि भौतिक आक्रमण गर्नेविरुद्ध प्राधिकरणले सार्वजनिक मुद्दा चलाउने प्रक्रिया अघि बढाएको छ। वितरण केन्द्र अन्तर्गत अहिले १९ प्रतिशत चुहावट भइरहेको छ। गत वर्ष ३२ प्रतिशत रहेको चुहावट चालु आर्थिक वर्षभित्र २३ प्रतिशतमा झार्ने लक्ष्य भएको भएपनि केन्द्रले लक्ष्यअनुसार चुहावट नियन्त्रण गर्न सकेको छैन।