बेनी। म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गाको भ्रमणमा आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो ।
बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेको सिमानामा अवस्थित बेलुढुङ्गा हिमशृङ्खला र ग्रामीण जनजिवनको अवलोकन गर्ने स्थल मानिन्छ ।
भकिम्ली र ओखलेका दुवै बस्तीबाट देउराली डाँडासम्म सडकको पहुँच पुगेको र त्यहाँबाट बेलढुङ्गाको ‘भ्यू पोइन्ट’सम्म चिटिक्कको पदमार्ग निर्माण भएपछि पर्यटकको आगमन बढ्दो क्रममा रहेको भकिम्लीका स्थानीयले बताए ।
समुद्री सतहदेखि दुई हजार सातसय मिटर उचाइमा रहेको बेलढुङ्गाबाट देखिने सूर्योदय, दर्जन बढी हिमाल र ग्रामीणबस्ती जीवनशैली र भू–बनोटको अवलोकनका लागि आन्तरिक पर्यटकको आगमन उत्साहजनक रहेको भकिम्लीका स्थानीयले बताए।
बेलढुङ्गामा आउने पर्यटकलाई लक्षित गरेर बागलुङको ओखलेमा होमस्टे सञ्चालनमा रहेको छ भने भकिम्लीको मुसुङ र भुकभुकेमा समेत होमस्टे सञ्चालन गर्ने तयारी गरिएको छ।