दोधारा चाँदनी। महेन्द्रनगरस्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण बजेट अभावले ठप्प भएको छ । पुल निमार्णका लागि पर्याप्त बजेट नआउँदा चार महिनादेखि पुल निमार्ण बन्द भएको हो ।
निर्माण कम्पनीले गत आर्थिक वर्षकै २२ करोड रूपैयाँभन्दा बढी रकम पाउन बाँकी छ । तर चालु आवमा पुल निर्माणका लागि १८ करोड मात्रै बजेट आएको र यसले गत वर्षकै भुक्तानी गर्न नपुग्ने भएपछि पुल निमार्ण बन्द भएको महाकाली पुल योजना कार्यालय महेन्द्रनगरले जनाएको छ।
बजेट थपका लागि विभाग र मन्त्रालयमा माग गरेको बताइएको छ। पुल निर्माणको भौतिक प्रगति ९२ प्रतिशत भइसकेको छ। तर पुलसँगै बन्ने अन्य संरचनाका लागि पर्याप्त बजेट विनियोजिन नहुँदा निर्माण व्यवसायीले काम गर्नसक्ने अवस्था नरहेको जनाएको छ ।
विसं २०७४ भदौमा ठेक्का सम्झौता भएर काम सुरु भएको पुल निमार्ण २०७७ भदौमा सम्पन्न गर्ने भनिए पनि काम सम्पन्न नहुँदा म्याद थप गरिएको थियो । विसं २०८० चैतभित्र सबै काम सम्पन्न गर्नुपर्ने भए पनि बजेट अभावका कारण आयोजनाको कामपछि धकेलिँदै गएको छ ।