काठमाडौं। श्री एयरलाइन्सले शक्रबारबाट काठमाडौं–सुर्खेत नियमित उडान सुरु गरेको छ। शुक्रबार कम्पनीको ९ एन–एएनआर कलसाइनको बम्बार्डियर कम्पनीको क्यू–४०० ‘टर्बोप्रोप’ जहाजमार्फत नियमित व्यावसायिक उडान सुरु गरेको हो।
काठमाडौं–सुर्खेत उडानमा ७२ जना र सुर्खेत–काठमाडौं उडानमा ६५ जना यात्रु रहेका थिए। दैनिक एउटा उडान योजना बनाएको कम्पनीले यो गन्तव्यका लागि एकतर्फी भाडादर ६ हजार ६०० रुपैयाँ निर्धारण गरेको जनाएको छ।
यो गन्तव्यमा एकतर्फी भाडादर ८ हजार रुपैयाँ लागू हुँदै आएको थियो। यसअघि यात्रु नेपालगञ्ज गएर उडान सेवा लिँदै आएकोमा अब सुर्खेतबाटै उडान सेवा लिने वातावरण बनेको छ।
सन् १९६६ मा सञ्चालनमा आएको सुर्खेत विमानस्थलको धावनमार्गको लम्बाई ४ हजार २०० फिट रहेको छ। सन् २०१८ बाट निजी वायुसेवा कम्पनी बुद्धले यो विमानस्थलमा बिचक्राफ्ट र एटिआर–४२ सिरिजको जहाजबाट उडान सुरु गरेको थियो।