काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डिलिङ सर्भिस नेपाल वायुसेवा निगमबाट खोसिने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको व्यवस्थापनले शुक्रबार भूमिस्थ प्रबन्ध सेवा अर्थात ग्राउण्ड ह्याण्डलिङ सर्भिस प्रतिस्पर्धाका माध्यमबाट छनोट हुने संस्थामार्फत गराउने निर्णय गरेको हो।
सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) बमोजिम यो निर्णय गरिएको प्राधिकरणका अधिकारीहरुले बताएका छन् ।
करिब ७ दशकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ नेपाल वायुसेवा निगमले गर्दै आएको थियो । अधिकारीहरुका अनुसार यो सेवाका लागि मात्र उपकरणमा साढे २ अर्बभन्दा बढी लगानी गरेको छ । वायुसेवा निगमको आम्दानीको मुख्य स्रोत ग्राउण्ड ह्याण्डलिङ मानिन्छ ।
वायुसेवा निगमले आर्थिक वर्ष २०७८/७९ मा गरेको १६ अर्ब ४ करोड कुल आम्दानीमध्ये ३ अर्ब १८ करोड ग्राउण्ड ह्याण्डलिङबाट आर्जन गरेको थियो ।