काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणका १० जना आरोपि धरौटीमा छुटेका छन्। उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरण संलग्न भएको अहिले नै प्रमाण नदेखिएकाले १० जना आरोपिलाई धरौटीमा छोड्न आदेश दिएको हो।
अदालतले नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीसहित नौ जनालाई भने थुनामै राख्न आदेश दिएको छ । न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले रायमाझीलाई थुनामै राख्न आदेश दिएको हो ।
यता पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्ने निर्णयमा भने न्यायाधीशको मत बाझिएको छ । एक जना न्यायाधीशले बालकृष्ण खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छुटाउन आदेश दिए पनि अर्का न्यायाधीशले थुनामै राख्न आदेश दिएपछि अब उनको मुद्दा अर्को इजलासमा जानेछ ।
बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी भने धरौटीमा रिहा भएका छन् । टोपबहादुर रायमाझीका छोरा सन्दीप पनि ३० लाख रुपैयाँ धरौटीमा छुटेका छन्।
अदालतले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश दिएको छ । धरौटीमा छुट्नेहरूमा अरु हरिभक्त महर्जन, लक्ष्मी महर्जन, शमशेर मियाँ, आशिष बुढाथोकी, टेक गुरुङ, रामशरण केसी र केशव तुलाधर रहेका छन् ।