काठमाडौं। हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको साङ्घाई सहरमा सिधा उडान सुरु गरेको छ । एयरलाइन्सले चीनको ठुलो सहर साङ्घाईमा आजदेखि नियमित उडान प्रारम्भ गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ९ः२० बजे एक सय ३७ यात्रुसहितको हिमालयको जहाज साङ्घाई उडेको छ । उक्त जहाज साङ्घाईबाट यात्रु लिएर आज राति ९ बजे काठमाडौँ विमानस्थलमा अवतरण गर्ने एयरलाइन्सले जनाएको छ ।
काठमाडौँ–साङघाई उडान पाँच घण्टा २० मिनेटको हुनेछ । हरेक शनिबार बिहान नियमित उडान हुने कम्पनीले जनाएको छ । साङ्घाईमा हिमालय एयरलाइन्सको यो पहिलो उडान हो । योसहित कम्पनीले चीनको राजधानी बेइजिङसहित विभिन्न नौ सहरमा उडान विस्तार गरेको छ ।