सल्यान। सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यवस्थित सञ्चार सेवा र भौतिक पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको बताएकी छन् । सल्यानको कपुरकोट गाउँपालिकाले शनिबार बिहान आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन्।
उनले नेपाल सरकारको मुख्य प्राथमिकता सुशासन, विकास र सहज सेवा प्रवाह भएकाले स्थानीय सरकारले पनि सोही अनुसार काम गर्नुपर्ने बताइन् । स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार रहेकाले चुस्त र सहज सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ। पूर्वाधार विकास र नीति तथा कानुन निर्माणका काम भने संघ र प्रदेश सरकारले गर्ने उनले बताइन्।
वर्तमान सरकारले सुशासन र सेवा प्रवाहमा जोड दिने नीति लिएपछि शैक्षिकसत्र सुरु हुनुअघि नै दुर्गम जिल्लाका स्कुलहरुमा पाठ्यपुस्तक पुग्न सकेको, मल आपूर्ति सहज भएको, सरकारी कार्यालयमा सेवाग्राहीको लाइन हटेको लगायतका उदाहरण पेश गर्दै मन्त्री शर्माले सेवाग्राही मैत्री काम अझै बढाएर लैजानुपर्ने बताइन् ।