सिन्धुपाल्चोक। खानेपानीमन्त्री महीन्द्र राय यादवले मेलम्चीको पानी काठमाडौं पठाउन तीव्र गतिमा काम भइरहेको बताएका छन् । मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु अम्बाथानलगायतको क्षेत्रको स्थलगत अनुगमन गर्दै मन्त्री यादवले चाँडै पानी काठमाडौं पुर्याउने गरी काम भइरहेको बताएका हुन्।
हेलम्बु गाउँपालिका–१ अम्बाथानको अुनुगमनपछि मन्त्री यादवले यहाँका समस्याको समाधान गर्दै दिगो रुपमा काठमाडौंवासीलाई पानी खुवाउने सरकारको योजना रहेको र सोही अनुसार सम्पूर्ण जनशक्ति परिचालन भएको बताए।
अनुगमनका क्रममा सिनियर डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरले बाढीले पुर्याएको क्षतिको यकीन भइनसकेकाले कति दिनभित्रमा पानी काठमाडौं पुग्छ भनेर भन्न नसकिने बताए ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले काठमाडौंमा पानी पठाउनका लागि स्थानीय सरकारकातर्फबाट पूर्णरुपमा सहयोग भइरहेको जानकारी दिए।