काठमाडौं। नेपाल आयल निगमले सिमरा विमानस्थलमा हवाई इन्धन स्टेसन सञ्चालनमा ल्याएको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आइतबार एक समारोहबीच हवाई इन्धन स्टेसन उद्घाटन गरे।
अबदेखि सिमरा विमानस्थलमा हवाई इन्धन रिफ्युलिङ गर्ने काम हुनेछ। यसअघि सिमरामा हवाई इन्धन भर्ने सुविधा नहुँदा जहाजले काठमाडौंबाटै इन्धन भरेर जानु पर्ने बाध्यता थियो।
सिमरामा बुद्ध र यती एयरले दैनिक १० वटा हाराहारी उडान।अवतरण गर्दै आएका छन्। इन्धन स्टेसन सञ्चालनले सिमरामा अब आपतकालीन उडान र अवतरणमा सहजता हुने विश्वास छ।
विमानस्थलमा दैनिक ४ हजार लिटर इन्धन खपत हुने निगमको विश्वास छ। इन्धन स्टेसनका लागि निगमले विमानस्थलमा ११ र १६ किलोलिटरका २ वटा रिफ्युलर तथा ९ किलोलिटरको ‘डिस्पेन्सर’ को व्यवस्था गरेको छ।