काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित रुपमा अन्तरराष्ट्रिय उडान गर्ने कामलाई सरकारले प्राथमिकता दिने बताएका छन् ।
नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलसँगसँग हिजो मन्त्रालयमा मन्त्री किरातीले सो विमानस्थलमा अन्तरराष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले प्रत्येक उडानको ५ लाख रूपैयाँ प्रोत्साहनस्वरुप दिनेगरी सरकारले कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।
‘भैरहवा र पोखराबाट अन्तरराष्ट्रिय उडान जतिसक्दो छिटो गर्नेगरी हामी लागिरहेका छौँ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल भैरहवा र पोखरा विमानस्थलबाट जसले नियमित उडान गर्छ त्यसलाई प्रोत्साहनस्वरुप रु पाँच लाख प्रत्येक उडानको दिने तयारी गरिरहेका छौँ ‘ उनले भने ।