काठमाडौं। स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १२ स्थित फौदी खोलामा मोटरेबल पुलको शिलान्यास गरिएको छ। सो नगरपालिकाबाट पहिलो चरणमा १५ लाख रुपैयाँ लागतमा पुल निर्माण थालिएको हो।
पुलको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँण, स्थानीय ज्येष्ठ नागरिकद्वय ९९ वर्षीया देउरुपा पराजुली र ९८ वर्षीया रेनुका पराजुलीले संयुक्त रूपमा शिलान्यास गरेका छन्। वर्षायाममा सवारीसाधन फौदी खोला पार गर्न समस्या भएकाले मोटरेबल पुल निर्माण थालिएको नगरप्रमुखले जानकारी दिएका छन्। गाउँलाई सहरसँग र सहरलाई गाउँसँग जोड्ने सो क्षेत्रको महत्त्वपूर्ण सडकको रूपमा उक्त सडकलाई अगाडि सारेको बताउँदै पुल निर्माणसँगै गाउँमा उत्पादित कृषि तथा पशुजन्य उत्पादन बजार पुर्याउन र गाउँमा आवश्यक पर्ने सामग्री पुर्याउन सहज हुने उनले जनाएका छन्।
आफु निर्वाचित भएसँगै सो क्षेत्रको मुख्य समस्याका रूपमा रहेको फौदी खोलामा पुल निर्माणका लागि पटक पटक मन्त्रालयमा प्रयास भएको भएतापनि योजना प्राप्त नभएको हुनाले नगरपालिकामार्फत निर्माण थालिएको वडा नम्बर १२ का वडाध्यक्षले जानकारी दिएका छन्। सो पुलको डिपिआर गरेर मन्त्रालयमा फाइल पठाएको भएपनि सुनुवाइ नभएपछि नगरपालिकाकै पहलमा योजना अगाडि बढाई शिलान्यास गरेर निर्माणको काम थालेको उनले जानकारी दिएका छन्। सो खोलामा पुल नहुँदा सवारी दुर्घटना हुनुका साथै खोलामा बाढी आएका बेला सवारीसाधन वारपार गर्न नसक्ने भएकाले धेरै समय वारिपारि नै रोकिनुपर्ने बाध्यतालाई अन्त्य गर्ने उद्देश्यले पुल निर्माण कार्य थालिएको जनाइएको छ। पुल निर्माण भएसँगै स्थानीयवासी र सवारी चालकहरुलाई सहज हुनेछ।
वालिङ वडा नम्बर १३ को बायँटारीबजारदेखि वडा नम्बर १२ लाई सडक सञ्जालसँग जोड्ने गरी फौदी खोलामा आवतजावत सहज बनाउन पक्की पुल शिलान्यास गरिएको हो। पुल आगामी दुई महिनाभित्रै निर्माण सम्पन्न गर्ने सम्झौता भएको आयोजनाको इञ्जिनियरले जानकारी दिएका छन्। यसैगरी नगरपालिकाको पहिलो चरणमा रु. १५ लाख र दोस्रो चरणमा पुलको तटबन्धन तथा सुरक्षाका लागि थप ५ लाख गरी कुल २० लाख रुपैयाँ लागतमा सो पुलको निर्माण सम्पन्न गर्ने योजना रहेको छ। उक्त पुलको लम्बाइ र चौडाइ ६/६ मिटर रहनेछ।