तनहुँ। तनहुँको म्याग्दे गाउँपालिकाले पालिकाभित्रका विपन्न परिवारको घर निर्माण गरिदिने भएको छ। संघीय सरकारको समपूरक कोष र गाउँपालिकाको साझेदारीमा सातवटै वडाका विपन्न परिवार छनोट गरी घर निर्माण गर्न लागिएको हो।
संघको समपूरक कोषमार्फत ५० लाख र गाउँपालिकाको ५० लाख गरी एक करोड रूपैयाँको लगानीमा २५ वटा घर निर्माण गरिने पालिकाले जनाएको छ।
गाउँपालिका–१ देखि ७ मा रहेका लक्षित वर्ग, म्याग्दे गाउँपालिकाको आर्थिक विपन्न वर्गलाई नमुना आवास कार्यक्रम कार्यविधि २०८० को दफा (३) अनुरुप मापदण्ड तथा सूचीभित्र योग्यता पुगेका स्थानीय नागरिकलाई मङ्सिर २७ गतेभित्र निवेदन पेस गर्न सूचित गरिएको छ। त्यसका लागि जग्गाधनी प्रमाणपुर्जा प्रतिलिपि, नागरिकताको प्रतिलिपि, सम्बन्धित वडाको आर्थिक विपन्न परिवार भएको सिफारिससहित आवश्यक कागजात, सामान्य प्रकृतिका श्रमबाहेक परिवार सदस्यमा कोही स्थायी रोजगार तथा दिगो लगानी तथा आयस्रोत नभएको, दोहोरो सुविधा तथा अनुदान नलिएको प्रमाण पेस गर्नुपर्नेछ।