चितवन। अर्थमन्त्री डा.प्रकाशशरण महतले पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन्। पत्रकारसँग कुराकानी गर्दै मन्त्री महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताए।
उनले भने, “नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ । समस्यामा परेका व्यवसायीको समस्या समाधान हुन्छ । अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ । समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ । पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन्। ” उनले अर्थतन्त्रमा सुधार आउन अझै केही समय लाग्ने बताए ।
अर्थतन्त्र सुधारका लागि धेरै नीतिगत निर्णय भएको जनाउँदै उनले ती निर्णयबाट भएको लगानीले प्रतिफल दिन समय लाग्दा अर्थतन्त्रमा केही समस्या देखिएको बताए । भएका निर्णयका आधारमा सहजरूपमा कर्जा प्रवाह हुँदा धेरै कर्जा जग्गामा, सेयरबजार र क्रिप्टोमा पनि भित्रीरूपमा गएको जनाउँदै उनले त्यसको प्रतिफल आउन ढिला भएको बताए।
सञ्चारकर्मीको जिज्ञासामा उनले एनसेलको सेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी नभएको बताए।
फरक प्रसङ्गमा अर्थमन्त्री डा महतले अहिले सरकारले चुरे क्षेत्रको गिट्टी, बालुवा उत्खननका लागि कुनै प्रक्रिया अघि नबढाएको स्पष्ट पारउे।