दमौली। लामो समयदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने घुमाउनेको पुलको काम पुनः सुरु भएको छ । गण्डकी प्रदेशलाई बागमती प्रदेशसँग जोड्ने गरी तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–१ स्थित त्रिशूली नदीमा सो पुल निर्माण गर्न सुरु गरिएको थियो ।
तिहार सकिएलगत्तै पुल निर्माणको काम सुरु गरिएको निर्माण कम्पनीले जनाएको छ । विगतमा विविध कारणवश पुलको कामले गति लिन सकेन, अहिले पुल निर्माणका लागि कामदार परिचालित भएका छन्। जतिसक्दो चाँडो सम्पन्न गर्ने निर्माण कम्पनीको भनाइ छ।
समयमै पुल बनेको पुल बनेको भए मुग्लिन–नारायणगढ खण्डको विकल्पका रूपमा सर्वसाधारणले उक्त पुल तरेर बुद्धसिंमार्ग हुँदै दमौली निस्केर गन्तव्यसम्म पुग्न सजिलो हुने बताइएको छ । त्यस्तै पोखरातर्फबाट आउने यात्रु डुम्रे, आँबुखैरेनी नभई बुद्धसिंमार्ग भएर उक्त पुल तरेर भरतपुर महानगरपालिकाको घुमाउने निस्किन पाउँने जनाइएको छ ।
एक सय पाँच मिटर लम्बाइ रहेको पुलको लागत नौ करोड ५६ लाख रूपैयाँ छ। गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंमार्गको घुमाउनेको उक्त मोटरेबल पुल सडक विभागअन्तर्गतको डिभिजन सडक कार्यालय तनहुँको प्राविधिक सहयोगमा निर्माण गर्न लागिएको हो।