महेन्द्रनगर। कञ्चनपुरको पुनर्वास नगरपालिकाले सडक विस्तार कार्य सुरु गरेको छ । नगरपालिकाको सहरी योजना तथा भवन निर्माणसम्बन्धी गुरुयोजना अन्तर्गत सडकको न्यूनतम चौडाइ ६ मिटर कायम गरी सडक विस्तार गरेको हो।
साविकका गल्लीसमेत चार मिटर चौडा कायम गरी गल्लीभित्र एम्बुलेन्स, दमकल पुग्न सक्ने गरी नगरपालिकाको विकास गुुरुयोजनाअन्तर्गत सडक फराकिलो पार्ने कार्य अगाडि सारेको नगरपालिकाले जनाएको छ । कञ्चनपुरको दक्षिणीक्षेत्र पुनर्वास नगरपालिकामा स्थानीय बजार आईबी आरडीबाट सडक विस्तार कार्य शुभारम्भ गरी पुनर्वास नगरपालिका–९ बिचाफाटा हुँदै वडा नं.–४ जनक बस्तीमा पनि सडक विस्तार कार्य भइरहेको छ ।
सडक फराकिलो पार्ने क्रममा केही स्थानमा समस्या देखिए पनि विकास कार्यलाई निरन्तरता दिएको नगरपालिकाका अमिन एवं प्राविधिक फोकल पर्सन प्रकाशबाबु सुवेदीले बताए । पुनर्वास नगरपालिका–४ ले सार्वजनिक जमिनको खोजी र संरक्षणसमेत सुरु गरेको छ । नगरपालिकाले सर्वदलीय समिति नै बनाएर विभिन्न वडागत सार्वजनिक बाटो अतिक्रमण गरी भोगचलन गरिरहेको जमिनको खोजी कार्य सुरु गरेको छ ।
यसले जमिनको पहिचान गर्ने र त्यसको संरक्षणसँगै उपयोगिताका कार्यक्रम ल्याउने वडाध्यक्ष मनोज सापकोटाले बताए । उनले भने, ‘सडकको क्षेत्रधिकारभित्र परेका गैरकानुनी संरचना र सार्वजनिक बाटो मिचेर भोगचलन गरिरहेका जमिर्न खाली गर्न यसअघि नै पटक–पटक सूचना जारी गरेता पनि अटेर गर्नेको डोजर लगाएर भत्काउन सुरु गरेको उनले बताए ।
नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माले आगामी दिनमा क्रमशः नगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक तथा पर्ति जग्गाको उचित संरक्षणका लागि वडाध्यक्षसँग समन्वय गरी प्रभावकारी र वैज्ञानिक उपयोगबाट सार्वजनिक जग्गा संरक्षण र उपयोगसम्बन्धी कार्यविधि बनाइने बताए । नगरपालिकाको महत्वपूर्ण स्रोतको रूपमा रहेको सार्वजनिक जग्गाको उपयोग, संरक्षण र व्यवस्थापन गर्ने विषयलाई प्राथमिकतामा राखेको नगरप्रमुख शर्माले बताए ।
उनले भने, ‘कानुन अभावमा सार्वजनिक जमिनको अनियन्त्रित र अव्यवस्थित प्रयोग हुन गई नगरपालिकाको आयमासमेत प्रतिकूल असर पर्न गएकोले अतिक्रमण हुनसक्ने नगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण सार्वजनिक जग्गाको अभिलेख, त्यसमा नगरपालिकाको नियन्त्रण र त्यस्ता जग्गाको उचित संरक्षण र उपयोग गरी जग्गा संरक्षण तथा उपयोग कार्यविधिका आधारमा नै नगरपालिकाले यससम्बन्धी योजना तथा कार्यक्रम तर्जुमा एवम कार्यान्वयन गर्ने बताए ।
नगर प्रमुख शर्माले नगरपालिका क्षेत्रभित्र रहेका अन्य वडामा पनि अतिक्रमण गरी भोगचलन गर्दै आएका सार्वजनिक जग्गामा पनि क्रमिक रूपमा सडक विस्तार पार्दै जाने बताए । कारोबार दैनिकबाट