काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवा नेपाल वायुसेवा निगम आफैंले पाउनुपर्ने दाबी गरेको छ। निगमले ह्याण्डलिङ सेवाको निरन्तरता आफूले नै पाउनुपर्ने भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पहल गरी अनुरोध गर्ने निर्णय समेत गरेको हो।
निगमले विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवाका विषयलाई लिएर पछिल्ला समय केही सञ्चारमाध्यमबाट प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै ग्राउन्ड ह्याण्डलिङ्ग सेवालाई सुरक्षित, विश्वसनीय र गुणस्तरीय बनाउन निरन्तर लगानी गर्दै आइरहेको जनाएको छ ।
विज्ञप्ति जारी गर्दै निगमले ग्राउण्ड ह्याण्डलिङ सेवाका लागि अन्तर्राष्ट्रिय मापदण्डअनुसार उपकरण र दक्ष जनशक्ति तयार गरिएको पनि जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिरिक्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमासमेत ग्राउण्ड ह्याण्डलिङ गर्न अनुमति पाएका कारण यस क्षेत्रमा जनशक्तिलगायत उपकरणहरुको लागि थप लगानी गरी सेवालाई निरन्तरता दिइरहेको पनि निगमले प्रस्ट पारेको छ ।