काठमाडौं। जाजरकोट भूकम्पपछिको पुनर्निर्माणका लागि तीन साताभित्र विस्तृत क्षति आँकलन गरिने भएको छ । भूकम्पपछिको क्षति एवं आवश्यकता मूल्यांकनको आवश्यक कार्य गर्न र भूकम्पले निजी आवास एवं सार्वजनिक संरचनामा पुर्याएको क्षतिको ‘विस्तृत क्षति आँकलन’ गर्न गठित छुट्टाछुट्टै समितिको मंगलबारको बैठकले तीन साताभित्र अन्तिम प्रतिवेदन तयार गर्ने निष्कर्ष निकालेको हो।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार हाल निजी आवासको पूर्ण क्षति र आंशिक क्षतिको प्रारम्भिक तथ्यांक उपलब्ध भए पनि अब निजी आवास एवं सार्वजनिक संरचना पुनर्निर्माणका लागि आवश्यक विस्तृत तथ्यांक संकलन हुनेछ । त्यसका लागि इन्जिनियरसहितको टोली जाजरकोट, रुकुम पश्चिम, सल्यान, बाजुरा र बझाङमा खटाइने छ ।
निजी आवास पुनर्निर्माणका लागि मात्र कम्तीमा एक खर्ब अनुमान गरिए पनि सरकारसँग यकीन तथ्यांक छैन । प्रवक्ता खड्काका अनुसार अर्को टोलीले क्षति एवं आवश्यकता मूल्यांकन गर्नेछ ।