काठमाडौं। नेपाल वायुसेवा निगमले तीनवटा साना जहाज खरिदका लागि सार्वजनिक गरेको बोलपत्रमा तीनवटा कम्पनीले प्रस्ताव बुझाएका छन् । नेपाल वायुसेवा निगमका अनुसार ‘लेट’ विमान उत्पादन गर्ने एयरक्राफ्ट इण्डष्ट्रिज चेक रिपब्लिक, ‘डोर्नियर’ उत्पादन गर्ने भारतको हिन्दुस्तान एरोनटीक्स लिमिटेड र क्यानेडीयन जहाज ‘टुइनअटर’ निर्माता कम्पनी डि ह्याभील्यान्ड एयरक्राफ्ट कम्पनीले निगमलाई जहाज बिक्री गर्न प्रस्ताव पेस गरेका छन् ।
निगमले पर्यटनमन्त्री सुदन किरातीको ‘विशेष निर्देशन’ अनुसार दुर्गम क्षेत्रमा उडान भर्न सक्ने ३ वटा साना जहाज खरिद गर्न कात्तिक ५ गते ४५ दिनको म्याद दिई आरएफपी (बोलपत्र) आह्वान गरेको थियो । बोलपत्र बुझाउने अन्तिम दिन मंगलबार थियो ।
पहिले प्राविधिक प्रस्ताव हेरेर आर्थिक प्रस्ताव खोल्ने निगम स्रोतले जनाएको छ। ४८ अर्ब रुपैया ऋणमा रहेको निगमले सोल्टी होटलमा रहेको शेयर बिक्रि गरी झन्डै ३ अर्ब रुपैयामा तीनवटा साना जहाज खरिद गर्ने भनेको छ । कान्तिपुरबाट