काठमाडौं। लुम्बिनीका पर्यटन व्यवसायसँग आबद्ध विभिन्न संघसंस्थाले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु नभए सडक आन्दोलन गर्ने चेतावनी दिएका छन्। यवसायीहरुले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्न माग राख्दै पर्यटन मन्त्रालय, एसियाली विकास बैंक, नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगममा ज्ञापन बुझाएका हुन् ।
नेपाल एसोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशका व्यवसायीले पर्यटन मन्त्री सुदन किराती, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, एसियाली विकास बैंक र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षलाई आइतबार र सोमबार गरी फरक–फरक भेटमा ज्ञापनपत्र बुझाएका हुन्।
नाट्टा भैरहवाले जारी गरेको विज्ञप्तिअनुसार लुम्बिनीबाट काठमाडौं आइपुगेको टोलीले सोमबार महानिर्देशक अधिकारीलाई भेटेर जतिसक्दो छिटो भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नियमित गराउन माग गरे । व्यवसायीको ज्ञापन बुझेपछि अधिकारीले अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालन गर्न कुनै कमी नगर्ने प्रतिबद्धता जनाएका छन्।
नाट्टा प्रतिनिधिले सोमबार नै काठमाडौंस्थित एसियालि विकास बैकका नेपाल प्रतिनिधिलाई समेत भेटेर भैरहवा विमानस्थल सञ्चालनबारे ध्यानाकर्षण गराएका छन् ।
यसअघि नाट्टा लुम्बिनीका प्रतिनिधिहरूले गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान यथासक्य चाडो सञ्चालन गराउन आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई समेत ज्ञापन बुझाएका थिए ।