पोखरा। मंसिर २१ गतेदेखि पुस १ गते सम्म पोखरामा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेला–२०८० को तयारी पूरा भएको छ ।
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँ बजारस्थ्ति प्रदर्शनी केन्द्रमा आयोजना हुने ३२ औं समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघले जनाएको छ।
प्रदर्शनीमा डोमतर्फ ५४, अटोतर्फ ५० र अन्य विभिन्न खालका १ सय ४६ गरी २ सय २० स्टल रहने छन् । औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि, पुष्प, अटो, सूचना तथा प्रविधिको पदर्शनी मेलाको मुख्य आकर्षणका रुपमा रहेको बताइएको छ।
मेला प्रवेशका लागि सर्वसाधारणलाई १ सय र विद्यार्थीका लागि ६० रूपैयाँ कायम गरिएको छ । अवलोकनकर्ताले खरिद गर्ने १ सयको टिकटबाट १० र विद्यार्थीले खरिद गर्ने टिकटबाट ५ रूपैयाँ जाजरकोट भुकम्पपीडितलाई प्रदान गरिने छ।