म्याग्दी। अन्नपूर्ण गाउँपालिका–४ मा रहेको फुलफुते झरना पर्यटकका लागि आकर्षणको गन्तव्य बनेको छ। नारच्याङदेखि अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको भ्रमणमा आउने पर्यटकका लागि फुतफुते झरना थकान मेटाउने र प्रकृतिसँग रमाउने थलो बनेको हो।
कडा चट्टानलाई बीचमा पानीको बहावले काटेर झर्ने झरनाको पानीको दृश्यले यात्रालाई रोमाञ्चक बनाएको गाउँपालिकाको भनाइ छ। ।करिब ५० मिटर उचाइको झरनाको फेदीमा गोलो आकारको तलाउ छ । वनजङ्गल, एकान्त वातावरण र पहाडको फेदीमा रहेको फुतफुते झरनाको सुन्दरताले यात्राको थकान मेटाउने र मनलाई शान्त बनाएको छ।
नारच्याङदेखि हुमखोलासम्म दुई घण्टा गाडी र हुमखोलादेखि एक घण्टा ३० मिनेट पैदल हिँडेपछि फुतफुते झरनामा पुग्न सकिन्छ । हुमखोला भन्दामाथि बस्ती नभएकाले खाने बस्ने सुविधा छैन् । पर्यटक आफैले तयारी खाना खाजा लिएर जानुपर्छ ।सामाजिक सञ्जाल र सञ्चार माध्यममा यो झरना ‘भाइरल’ बनेको छ । दुई वर्षअघि सुनसान हुने झरना हेर्न मात्रै दैनिक २०।३० आन्तरिक पर्यटक आउने गरेको बताइएको छ।