रुपन्देही। रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउन विभिन्न दबाबका कार्यक्रम भइरहेका छन्। विमानस्थल सञ्चालनमा ल्याउन माग गर्दै सिद्धार्थ सञ्जाल रुपन्देहीले मङ्सिर २२ गतेदेखि दबाबका कार्यक्रम गर्ने घोषणा गरेको छ।
सिद्धार्थ सञ्जाल रुपन्देहीका संस्थापक अध्यक्ष अनिल ज्ञवालीले विगत लामो समयदेखि विमानस्थल पूर्ण रूपमा सञ्चालन हुन नसक्दा रुपन्देहीको व्यावसायिक, औद्योगिक तथा पर्यटकीयलगायतका क्षेत्रमा गरिएको लगानी जोखिममा परेको भन्दै बाध्य भएर आन्दोलन गर्नु परेको बताए।
उनले भने, “यसको तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको छ, यो पहिलो धक्का भएकाले सबैको साथ खोजेका छौँ ।” उनले आफ्नो अध्यक्षता तथा चन्द्रप्रकाश श्रेष्ठको संयोजकत्वमा ५०१ सदस्यीय मूल सङ्घर्ष समिति समेत गठन गरेको जानकारी दिए।
यसअघि प्रधानमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई भेटेर माग पूरा गराउन ज्ञापनपत्र दिइएको थियो ।