सुर्खेत। कर्णाली प्रदेश सरकार, सङ्घीय ससर्त अनुदानमार्फत कर्णाली प्रदेशका १० जिल्लामा एक हजार २१ वटा झोलुङ्गे पुल निर्माण गरिएको छ। भौगोलिक रूपमा विकट कर्णालीमा यस आर्थिक वर्षको कात्तिक मसान्तसम्म २७ वटा झोलुङ्गे पुल निर्माण गरिएको छ । चालु आर्थिक वर्षमा ९४ वटा पुल निर्माण गर्ने सरकारको योजना छ । गत आवबाट दायित्व सरेका, टेन्डर भएका तर पूरा नभएका पुलको सङ्ख्या १५३ छ । यी सबै पुल निर्माणाधीन छन् ।
प्रदेश सरकारको भौतिक पूर्वाधार एवं सहरी विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास निर्देशनालयको आर्थिक सहयोग तथा प्रादेशिक प्राविधिक सेवा प्रदायक संस्था हुरुन्डेक कालीकोट र सेवक कैलालीको प्राविधिक सेवामा कर्णालीका १० वटै जिल्लामा झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । आव २०७८/७९ मा ७७ वटा पुल निर्माण गरिएको थियो । आव २०७९/८० मा १०७ वटा गरी २११ वटा पुल निर्माण गरिएको पूर्वाधार निर्देशनालय सुर्खेतले जनाएको छ ।
प्राविधिक सहयोगकर्ता संस्थाका तर्फबाट कार्यक्रम संयोजक प्रयोग आचार्यका अनुसार चालु आवमा थप १५३ वटा पुल निर्माणाधीन अवस्थामा छन्। आव २०७८/७९ मा सङ्घीय ससर्त अनुदानबाट ६५ वटा पुल निर्माण भए । प्रदेश सरकारबाट १२ वटा पुल निर्माण भएका थिए । आव २०७९/८० मा निर्माण भएका १०७ वटा पुलमध्ये सङ्घीय ससर्त अनुदान अन्तर्गत पालिकाबाट ७४ वटा, प्रदेश सरकारमार्फत ३२ वटा र डोल्पाको काइके गाउँपालिकाले आफ्नै स्रोतबाट एउटा पुल निर्माण गरेको छ ।
अब कर्णाली प्रदेशका १० वटै जिल्लाबाट थप एक हजार पुल आवश्यक परेको भन्दै ७९ वटै पालिकाबाट प्रदेश सरकार र सङ्घीय सरकारमा माग भएको बताइन्छ। गोरखापत्रअनलाइनबाट