गुल्मी। गुल्मीको मुसिकोट नगरपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटन गरिएको छ। ‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा’ को सन्दर्भमा गुल्मीको वामी पुगेका एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुसिकोट नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेका हुन् ।
करिव सात वर्ष भाडाको घरबाट सेवाप्रवाह गरेको नगरले अहिले लिफ्टसहितको अत्याधुनिक प्रशासकीय भवन निर्माण सम्पन्न गरेको छ ।
१८ रोपनी १४ आना क्षेत्रफलमा चार तल्ले भवन बनेको छ । जसमा दुई वटा मिटिङ्ग हल, एउटा सेमिनार हल, ३९ कोठा, ठूलो पार्किङ्ग क्षेत्रसहितको प्रमुख प्रशासकीय भवन निर्माण गरिएको मुसिकोट नगरपालिकाले जनाएको छ।
भवन निर्माणको लागि आठ करोड ४८ लाख ११ हजार, चार सय २० रुपैयाँमा २० पुस ०७७ मा श्रेष्ठ महादेव खिम्ती जेभीले सम्झौता गरेको थियो। पहिलो सम्झौता अनुसार १७ पुस ०७९ मा काम सकिनुपर्ने भएपनि ३० पुस ०८० सम्म म्याद थप भएको नगरपालिकाले जनाएको छ ।