काठमाडौं। बंगलादेशले भारतीय ग्रिडमार्फत नेपालबाट ४० मेगावाट बिजुली आयात गर्ने भएको छ। बंगलादेशको आर्थिक मामिलासम्बन्धी मन्त्रिपरिषद् समिति र राष्ट्रिय खरिद समितिको छुट्टाछुट्टै बैठकले नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने निर्णय गरेको हो।
नेपालबाट आयात हुने बिजुली तेस्रो मुलुक भारतको विद्युत ग्रिडमार्फत प्रत्यक्ष खरिद विधिबाट हुने विद्युत खरिद सम्झौतामा रहेको बंगलादेशले जनाएको छ।
बंगलादेशले नेपालबाट ५ सय मेगावाट बिजुली खरिद गर्ने लक्ष्य लिएको छ।बंगलादेशले नेपाल, भारत र बंगलादेशबीच ऊर्जा क्षेत्रमा त्रिपक्षीय लगानी तथा सहयोग अभिवृद्धि गर्न संयन्त्र बनाउने प्रस्ताव पनि गरेको छ।
बंगलादेशले त्रिपक्षीय संयुक्त कार्यदल र संयुक्त सञ्चालन समिति गठन गर्ने सम्झौताको मस्यौदा नेपाल र भारत दुवैलाई पठाएको हो। नेपालको ऊर्जा क्षेत्रमा नयाँ विकासको चरण सुरु हुनेगरी बंगलादेशको प्रस्ताव आएको छ।