विराटनगर । विराटनगर महानगरपालिकाले कवाडी पसलका लागि ठाउँ तोक्ने भएको छ। विराटनगरको मुख्यबजारमा रहेको कवाडी पसलमा आगलागी भएर ३ जनाको मृत्यु भएपछि महानगरपालिकाले कवाडी पसल नियमन गर्ने भएको हो।
बुधबार दिउँसो कवाडी पसलमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ भने ३ जना गम्भीर घाइते छन्। घाइतेको काठमाडौं कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।
मुख्यबजार सातघुम्तीस्थित कवाडी पसलमा आगलागी घटना भएपछि बिहीबार महानगरपालिकाले विज्ञप्ति जारी गर्दै कवाडी पसल र गोदाम घर राख्नका लागि निश्चित स्थान तोक्ने बताएको छ ।
संवेदनशील व्यवसायको सुरक्षा मापदण्डलाई कडाइका साथ लागू गरिने पनि महानगरले जनाएको छ।
कवाडी पसलमा आगलागी हुँदा ज्यान गुमाउनेको परिवारलाई महानगरपालिकाले जनही १ लाख रुपैयाँ दिने भएको छ । त्यस्तै घाइतेको उपचारका लागि जनही ५० हजार रुपैयाँ दिने बताइएको छ।