सुनसरी।सुनसरीको धरान उपमहानगरपालिकामा विमानस्थल निर्माणका लागि पुनः स्थलगत अध्ययन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोलीले बिहीबार धरान–१७ स्थित डाँडाघोपामा रहेको विमानस्थल बनाउने जग्गाको स्थलगत अध्ययन गरेको हो।
नेपाल नागरिक उड्डयन प्राधिरकणको समूह र नगर प्रमुख हर्कराज राईसहितको टोलीडाँडाघोपामा पुगेको हो। अध्ययन टोलीका संयोजक थापाले विगतमा भएका अध्ययन प्रतिवेदनलाई नै आधार मानेर अध्ययन अघि बढाइएको बताए ।
टोली समक्ष पनि स्थानीयले विमानस्थल निर्माण गर्ने भए तुरुन्तै शुरु गर्न र नबन्ने हो भने जग्गा फिर्ता गर्न माग गरेका छन् ।उपमहानगरपालिकाका मेयर राईले स्थानीयलाई सम्बोधन गर्दै यति इन्कर्पोरेटको नाममा रहेको जग्गा पनि उपमहानगरको नाममा ल्याएर विमानस्थल निर्माणको काम छिट्टै अघि बढाउने बताए।
२० वर्षअघि २०६० सालमा विमानस्थल बनाउने सर्तमा धरान वडा नम्बर १७ डाँडाघोपामा स्थानीय बासिन्दाको जग्गा नगरपालिकाको रोहबरमा यती इन्कर्पोरेटले डाँडाघोपाका २५ जनाको सात बिघा पाँच कट्ठा जग्गा खरिद गरेको थियो । त्यति बेला धरानका नगर प्रमुख कुमारबहादुर कार्की, पूर्वनगर प्रमुख मेन्याङ्बो र उपप्रमुख मीनकुमार सुब्बा रोहबरमा रहेका थिए।
तत्कालीन समयमा डाँडाघोपामा प्रतिकट्ठा ४० हजारदेखि ६० हजार रुपियाँसम्ममा किनबेच भइरहे पनि विमानस्थल निर्माणका लागि भनी नगरपालिकाले ‘क’ श्रेणीकालाई प्रतिकट्ठा ३२ हजार र ‘ख’ लाई प्रतिकट्ठा २८ हजारका दरले दिने निर्णय गरी जग्गा बिक्री गराएको थियो ।