चितवन। भरतपुर महानगरपालिकामा रहेको दियालो बङ्गला सर्वसाधारणका लागि खुल्ने भएको छ। नेपाल ट्रष्टको बुधबार बसेको ७८औँ सञ्चालक समितिको बैठकले दियालो बङ्गला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको हो ।
महानगरको आग्रहपछि सन् २०२४ को प्रारम्भदेखि खुला दियालो बङ्गला सर्वसाधारणका लागि खुल्ने भएको छ ।
यसको सञ्चालनका सम्बन्धमा अर्को बैठकमा निर्णय गरिने सञ्चालक समितिले जनाएको छ।
भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाउँदै छ । महानगरपालिकाको अनुरोधमा दियालो बङ्गला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरिएको हो । जीर्ण रहेको संरचनाको मर्मतसम्हार र अत्यावश्यक थप संरचना निर्माण गरेर बङ्गला खुला गरिने बताइएको छ ।
तत्कालीन राजपरिवार यही दरबारमा आएर बस्ने, नारायणी नदी किनार क्षेत्रमा घुम्ने गर्दथे । अहिले यस दरबार क्षेत्रमा नेपाल ट्रष्टका केही कर्मचारी व्यवस्थापनका लागि छन् भने सुरक्षा तथा संरक्षण नेपाली सेनाले गर्दै आएको छ ।