घोराही। दाङको गढवा–कालाकाटे हुलाकी सडक निर्माणको काम पुनः सुरु भएको छ । गत जेठदेखि रोकिएको गढवा–कालाकाटे सडकखण्ड अन्तर्गत गढवादेखि वनघुर्सीसम्मको सडक निर्माणको काम सुरु भएको हो ।
हुलाकी सडक अन्तर्गत गढवा बजारदेखि राजपुर गाउँपालिकाको जङ्ग्रहवासम्मको सडक कालोपत्रे सम्पन्न भए पनि गढवादेखि कालाकाटेसम्मको सडक निर्माण हुन सकेको थिएन । सवारी सञ्चालनदेखि धुलोका कारण स्थानीयको जनजीवन प्रभावित हुने गरेको छ ।
निर्माण व्यवसायीको लापरबाहीका कारण अलपत्र परेको हुलाकी सडक निर्माणको काम सुरु भएको गढवा गाउँपालिकाले जनाएको छ। यही महिनाभित्र हुलाकी सडक निर्माणको काम सुरु नगरे ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाइएको थियो । हुलाकी राजमार्ग निर्देशनालयको कार्यालय र निर्माण व्यवसायीबिच भएको सम्झौता अनुसार यही २२ गतेदेखि सडक निर्माणको काम सुरु भएको हो।
चालु आवको असार मसान्तसम्म सडक निर्माण सक्ने गरी काम सुरु गरेको ठेकेदार कम्पनी बज्रगुरु कान्छाराम जेभीले जनाएको छ।