रुकुमपश्चिम। नेकपा (माओवादी केन्द्र) ले भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिममा ३ हजारभन्दा बढी अस्थायी आवास निर्माण गरेको छ। उपमहासचिव जनार्दन शर्माले मंगलबार मुसीकोटमा पत्रकार सम्मेलन गरी माओवादी केन्द्रले रुकुमपश्चिमका ६ वटा स्थानीय तहमा तीन हजार एक सय ६८ वटा अस्थायी आवास निर्माण गरेको जानकारी दिएका हुन्।
पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य समेत रहेका शर्माको नेतृत्वमा माओवादी केन्द्र रुकुमपश्चिमले गत मङ्सिर १२ गतेबाट औपचारिक रूपमा तीन हजार स्वयंसेवक परिचालन गरेको थियो। त्यसयता भूकम्पपीडित परिवारको लागि तीन हजार एक सय ६८ वटा अस्थायी आवास निर्माण गरेको शर्माले बताए।
पूर्वमन्त्री शर्माले जिल्लाभर ३२ हजार ८०७ वटा घरमा भूकम्पले क्षति गरेको जानकारी दिए। उनका अनुसार क्षति भएका मध्य २४ हजार ४२३ घरको प्रहरी मुचुल्का तयार भइसकेको छ भने अन्यको मुचुल्का बनाउने क्रम जारी छ।