वालिङ। सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा र पाल्पा जिल्ला जोड्ने राम्दीमा नयाँ पक्की पुल निर्माण सुरु भएको छ । गण्डकी र लुम्बिनी प्रदेश जोड्ने प्रमुख मार्गका रूपमा रहेको सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दीमा नयाँ पक्की पुल निर्माण सुरु भएको हो ।
सिद्धार्थ राजमार्ग निर्माण भएका बेला वि.सं २०२८ मा ‘स्टिल ट्रस’ हुँदै राम्दीमा पुल निर्माण गरिएको थियो । हाल उक्त पुल जीर्ण भएर दोहोरो आवत–जावतमा रोक लगाइएको छ ।
६ दशकअघि बनेको पुल जीर्ण भएपछि पटक पटक मर्मत गरिदैआएको थियो । पुरानो पुल नजिकै नयाँ पुल निर्माण सुरु गरिएको हो । नयाँ पुल निर्माणका लागि पुलको आडमा रहेका घर टहरा समेत हटाइएको छ ।
आगामी २०८२ असार मसान्तभित्र सक्नेगरी हिम सगरमाथा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा पाएको छ । राम्दीमा पुल निर्माणका लागि २७ करोड ७१ लाख रुपियाँ खर्च लाग्ने पुल आयोजनाले जनाएको छ ।