रुपन्देही। रुपन्देहीको सैनामैना नगरपालिकामा अस्थायी प्रहरी पोस्ट, रामापुर कलौनी स्थापना गरिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेशराज जोशीले सैनामैना–६ रामापुरमा स्थापना गरिएको प्रहरी पोस्टको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जोशीले स्थानीयको माग र आवश्यकतालाई बुझेर करिब २ वर्षदेखि रामापुरमा सुरक्षा युनिटको आवश्यकता महसुस गरेको र पोस्ट निर्माण गर्न सफल भएको बताए ।
उनले नागरिकको सुरक्षाका निम्ति खटिने प्रहरीको आवश्यकता महसुस गरेर नागरिकले अपनत्व देखाउनुले प्रहरीको काम तथा सेवा प्रभाह सहज हुने बताए । आफ्नै घरमा बसेर काम गर्दा प्रहरीलाई पनि गर्वको अनुभूति हुने उनको भनाइ छ। डीआईजी जोशीले प्रहरी पोस्ट स्थापनाले विकासको बाटो समेत खोल्ने बताए । प्रहरीसँग सूचना लिने मात्र नभई सूचना दिन उनले स्थानीयलाई आग्रह गरे । उनले समाजको सहयोगबिना प्रहरी अघि बढ्न नसक्ने बताए ।
नेपाल प्रहरीको नियमित बजेट ५ लाख ५० हजार, लुम्बिनी प्रदेश सरकारको ५ लाख तथा स्थानीय जनसमुदायको सहयोगबाट र नेपाल प्रहरी प्रधान कार्यालय कार्यविभाग प्रशासन शाखा २०८० असार २६ गतेको निर्णयअनुसार अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको हो ।