वालिङ। गण्डकी र लुम्बिनी प्रदेशको सङ्गमस्थल (रामनदीधाम) राम्दीस्थित कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालिएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दीमा कालीगण्डकी नदीमाथि नयाँ पुल निर्माण थालिएको हो ।
विसं २०२८ मा बनेको ‘स्टिल ट्रस’ पुल जीर्ण हुँदै गएपछि नयाँ प्रविधिको ‘सिग्नेचर ब्रिज’ को निर्माण थालिएको बताइएको छ। पुल जीर्ण हुँदै जाँदा ठूला भारवहन क्षमताका सवारी साधन सञ्चालन हुन पाएका थिएनन्। स्याङ्जातर्फको घर टहरा भत्काएर जग खन्ने काम अगाडि बढेको छ। हाल सञ्चालनमा रहेको ९३ मिटर लम्बाइको ‘स्टिल ब्रिज’ भन्दा केही तलबाट एकसय २० मिटर लम्बाइको ‘सिग्नेचर ब्रिज’ बन्ने भएको हो।
सडक विभाग पुल महाशाखाले सर्भे सम्पन्न गरी ठेक्का सम्झौता भई काम अगाडि बढेको हो । २०८२ साल असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी हिम सगरमाथा कन्ट्रक्सन प्रालिसँग पुल निर्माणको ठेक्का सम्झौता भएको हो ।
पुल निर्माण सम्पन्न गर्नका लागि २७ करोड ७१ लाख रूपैयाँ लागत लाग्ने छ। पुल फुटपाथसहित एघार मिटर चौडाइको हुनेछ । अब बन्ने नयाँ पुलमा ४० टनसम्मको भारवहन क्षमता रहने छ ।