काठमाडौं। नेपाल पर्वतरोहण संघले कोभिड–१९ बाट प्रभावित तीन हजार पर्यटन मजदूरलाई राहत दिने भएको छ। जापानको निप्पोन फाउण्डेसनको सहयोगमा राहत दिन लागिएको हो ।
संघमा आवद्ध पर्वतारोहीमध्ये आर्थिक रुपमा कमजोर र कोभिड–१९ बाट प्रभावित भएका उनीहरुलाई राहत दिन लागिएको अध्यक्ष सन्तवीर लामाले जानकरी दिए।
संस्कृति, पर्यटन तथ नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा बुधबार काठमाडौँमा आयोजित एक समारोहबीच राहतको घोषणा गरिएको छ । अध्यक्ष लामाले आगामी तीन महिनाभित्रमा राहत वितरण गरिसक्ने जानकारी दिए।
निप्पोन फाउण्डेसनले राहत वितरणका लागि दुई करोड ५० लाख दिने सहमति भएको बताइएको छ। संघमा आवद्ध ११ हजार मजदूरमध्ये छनोट गरी राहत दिइने छ ।
यस्तै संघले कोभिड–१९ उपचारका लागि निर्माण भएको आइसोलेसन केन्द्रमा समेत स्वास्थ्य सामग्री वितरण गर्ने जनाएको छ। त्यसैगरी पाँच सय पर्वतारोहीलाई आरोहणका बेला अत्यावश्यक हुने अक्सिजन सिलिण्डर समेत दिइने बताइएको छ।