धनकुटा। धनकुटा जिल्लाको चौबिसे गाउँपालिकामा ‘खेलकुद पर्यटन’को सुरुवात गरिने भएको छ। पालिकाल खेलकुद र कृषिलाई समेटेर ‘खेलकुद पर्यटन’को सुरुवात गर्ने भएको हो।
आठ वडा रहेको यस गाउँपालिकामा प्रत्येक वडामा सात/एघार क्षेत्रफलका एकदेखि तीनवटासम्म फुटबल मैदान छन् । खेल क्षेत्र र कृषिका माध्यमबाट पालिकाको प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय रारा फुटबल क्लबसँगको समन्वयमा खेलकुद पर्यटनको विकास थालिएको पालिकाले जनाएको छ ।
पालिकामा रहेका एक दर्जनभन्दा बढी खेलमैदान निर्माणका लागि १० लाखदेखि २५ लाखसम्म खर्च गरिएको पालिकाले जनाएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ मा ५३ करोड ९० लाख ५७ हजार कूल बजेट रहेकामा १६ करोड ३२ लाख ३६ हजार पुँजीगत बजेटबाट खेलकुद क्षेत्रका लागि ५७ लाख २० हजार विनियोजन गरेको पालिकाले जनाएकाे छ।
जिल्लाकै धेरै फुटबल खेलाडी भएको पालिका चौबिसे हो । यस क्षेत्रमा राष्ट्रियस्तरको रारा गोल्डकपसहित वर्षमा ५० देखि ६० फुटबल सञ्चालन हुँदै आएको राजारानी (रारा) फुटबल क्लबका अध्यक्ष मणि चेम्जोङले जानकारी दिए । उनका अनुसार यहाँ भलिबल, ब्याटमिन्टन तथा पुरानो पारम्परिक ढुङ्गाको छेलो हान्ने ९सटपुट० लगायत खेलहरू हुने गरेका छन् । स्थानीय चाडपर्व, विभिन्न मेला तथा महोत्सवका साथै राष्ट्रिय चाडपर्वका अवसरमा खेल सञ्चालन हुने गरेको उनले जानकारी दिए ।
खेलप्रतिको आकर्षणकै कारण हाल धनकुटाबाट नेपालको ‘एकेडेमी’, ‘ए डिभिजन’ र अन्तरराष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने आठजना खेलाडी चौबिसेबाट रहेका धनकुटा फुटबल सङ्घले जनाएको छ ।