काठमाडौं। म्याग्दीको मालिका गाउँपालिकाको वडा नम्बर ३ र ४ को सिमाना भएर बग्ने रितुङ खोलामा पुल निर्माण सुरु गरिएको छ। २५ मिटर लामो सडक पुलको निर्माण कार्य सुरु गरिएको हो।
उक्त पुल गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले निर्माण सुरु गरेको छ। पुलको हिजो लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले शिलन्यास गरेका छन् ।
पुल निर्माणका लागि बिमए कोण्डा जेभी (जोइन्ट भेञ्चर) सँग गत असोज अन्तिम साता रु चार करोड दश लाख ८३ हजारमा ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ।
पुल निर्माणका लागि रु पाँच करोड चार लाख ३७ हजार लागत अनुमान गरिएको थियो । सम्झौता भएको १८ महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ । निर्माण व्यवसायीले पहिलो चरणमा पुलको पिल्लर रहने ठाउँको जग खन्न थालेका छन् ।