काठमाडौं। काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ मा निर्माण हुने ‘महिला उद्यमी हरित औद्योगिक पार्क’को शिलान्यास गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र अर्थमन्त्री रामशरण महतले संयुक्त रूपमा पार्कको शिलान्यास गरेका हुन् ।
९६ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको पार्कको पहिलो चरणमा ४० करोड रुपैयाँमा ठेक्का लाग्ने जनाइएको छ । पार्कभित्र प्रशिक्षण केन्द्र, गोदाम, कोल्ड स्टोरेजका साथै कृषि उत्पादनको प्याकेजिङ, प्रशोधन, सुकाउने र ग्रेडिङसँग सम्बन्धित कार्य हुनेछन् ।
मञ्चसँग पाँचखाल नगरले वडा नम्बर ७ मा करिब पाँच हेक्टर (९८ रोपनी) जग्गा २५ वर्षका लागि उपलब्ध गराउने त्रिपक्षीय सम्झौता भएको थियो । मञ्चका अध्यक्ष प्रमिला आचार्य रिजालका अनुसार पार्कभित्र ५० वटा लघु, मझौला र साना उद्योग स्थापना हुनेछन् । स्थानीय कच्चा पदार्थलाई प्राथमिकता दिएर उद्योगमा प्रयोग गरिने रिजालले बताइन् ।