म्याग्दी। पछिल्लो एक महिनाको अवधिमा करिब ८० हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । दसैँतिहार पर्व बिदाको अवसर पारेर गत कात्तिकमा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको संख्या बढेको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कानुसार कात्तिकमा ७३ हजार आठ सय ७९ स्वदेशी र ५ हजार ५ सय ४ जना विदेशी पर्यटकले भ्रमण गरेका हुन् ।
विदेशी पर्यटकको अभिलेख भने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको जोमसोम र लोमान्थाङस्थित कार्यालयले राख्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार दसैँ, तिहार, छठपर्व बिदाको अवसरमा मुस्ताङ घुम्ने पर्यटकको लर्को लागेको थियो । कात्तिकमा मुस्ताङमा १३ हजार नौ सय एक सवारीसाधनले पर्यटक बोकेर भित्रिएका थिए ।
उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् ।