काठमाण्डौं। पर्वतमा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत् आयोजनाको उत्पादन करिब तीन महिनापछि पुनः सञ्चालन भएको छ। पर्वतको कुश्मा नगरपालिका–८ चुवामा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित १० मेगावाट क्षमताको यो आयोजनामा ठूलो क्षति पुगेका कारण मर्मत गर्न लामो समय लागेको हो।
युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक उपेन्द्र गौतमका अनुसार प्राविधिक र आयोजनाका कर्मचारीको निरन्तरको प्रयासपछि गत शुक्रबारदेखि उत्पादन सञ्चालनमा ल्याइएको हो। बाढीले आयोजनाको नहर, बाँधस्थल, सेयर वाल, स्ल्याबलगायतका संरचनामा क्षति पुगेको थियो। विद्युत् उत्पादनगृहमा कुनै क्षति नपुगे पनि नहरबाट पानी पास गराउन समय लागेको हो।
उक्त आयोजनाको विद्युत्गृहदेखि मोदी सबस्टेसन जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनको चार नम्बर टावरसमेत पहिरोले ढालेको थियो। टावर ढलेसँगै तल्लो मोदी–१ को विद्युत् गृहमा पठाउने पानीको नहरको ५०० मिटर भागमा लेदोसहितको माटो थुप्रिनुका साथै करिब एक किलोमिटर क्षेत्र क्षतविक्षत बनाएको थियो। त्यसबाहेक युनाइटेड मोदी आयोजनाले नै निर्माण गरेको विद्युत् प्रसारण टावरसमेत पहिरोले ढालेको थियो।
निर्देशक गौतमका अनुसार बाढी र पहिरोका कारण नोक्सान मात्रै पाँच करोडभन्दा बढी भएको छ । त्यसैगरी अहिलेसम्म विद्युत् उत्पादन नहुँदा थप दुई करोड आम्दानीसमेत घटेको उनले बताए । आयोजनाको मर्मत पूर्णरूपमा अझै नसकिएको उनको भनाइ छ । यसअघि पनि जेठ ३१ गते राति सुन्दरेखोलामा आएको बाढीले नहर पुरिँदा झण्डै एक महिनामा आयोजना सञ्चालनमा आएको थियो ।