गण्डकी। पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने सम्बन्धमा गठित अध्ययन समितिको बैठकले आवश्यक पूर्वाधार पहिचान गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष एवम् गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द देवकोटाको अध्यक्षतामा बसेको समितिको पहिलो बैठकले राजधानी घोषणाका लागि आवश्यक पूर्वाधार पहिचान गर्ने निर्णय गरेको हो ।
बैठकले पूर्वाधार पहिचानसँगै पर्यटकीय राजधानीको रुपमा विकास गर्न सेवाको गुणात्मकता वृद्वि गर्न अवलम्बन गर्नुपर्ने विषयको पनि पहिचान गर्ने निर्णय गरेको समितिले जनाएको छ। राजधानी घोषणाका लागि आवश्यक मापदण्डहरुको पहिचान, घोषणा प्रक्रियाको तयारी, सङ्घ तथा प्रदेश सरकारसँग समन्वय गर्नेलगायत निर्णय गरेको बताइएको छ।